इटहरीः झापाको बिर्तामोड ५ की २५ वर्षीय सृजना बस्नेतको शङ्कास्पद अवस्थामा शव फेला परेको घटनामा स्थानीय र युट्युबरले प्रहरी अनुसन्धानलाई केही समय अवरोध गरेका छन् ।
बस्नेतको शव बिहान उनी बस्ने आफन्तको घरअगाडि अगाडी अवस्थामा शव फेला परेको थियो । शव फेला परेपछि आफन्त तथा स्थानीयहरू घटनास्थलमा भेला भएका थिए । त्यस्तै घटनास्थलमा पुगेका युट्युबरलाई प्रहरीले बस्नेतको शव भएको स्थानमा जान रोकेपछि विवाद भएको थियो । घटनाको अनुसन्धान भइरहेको अवस्थामा युट्युबरहरुले वातावरणलाई उत्तेजित बनाएपछि भेला भएका स्थानीयहरूले शव उठाउन नदिने भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । बस्नेतको हत्या नै भएको दाबी स्थानीय महिलाहरूले गरेका छन् । घटनास्थल सुरक्षामा खटिएका प्रहरीमाथि उत्तेजित भीडले हात हाल्ने र प्रहरीको लाठी खोस्नेजस्ता कार्य भएको थियो । बस्नेतको शव मुचुल्का गरी उठाउने क्रममा स्थानीयहरूले प्रहरीको अनुसन्धान प्रक्रियालाई अवरोध गरेका हुन् । स्थानीय पत्रकार पूजन घिमिरेका अनुसार घटनाको सत्यतथ्य नबुझी युटुबरहरुले माहौललाई अशान्त बनाएकाले भीड उत्तेजित भएको हो । ’प्रहरीले आफ्नो काम गम्भीरतापूर्वक गरिरहेको अवस्थामा एक्कासी वातावरण बिगार्ने काम भयो’ उनले भने ’संयमता अपनाउन प्रहरीले धेरै आग्रह गरेको थियो ।’
अहिले घटनास्थलमा प्रहरीको उपस्थिति बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । ’पोस्टमार्टमको लागि शव उठाउने क्रममा स्थानीयवासी तथा युट्युबरले माहौल बिगार्ने प्रयास भएको हो’ थापाले भने ’अहिले जम्मा भएको भीड सामान्य बल प्रयोग गरेर तितरबितर भएको अवस्था छ ।’ डिएसपी थापाले घटनाको अनुसन्धान गहन ढङ्गले भइरहेको बताउँदै पोस्टमार्टम रिर्पाेटपछि मात्र वास्तविकता बाहिर आउने बताए । बस्नेतको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरी अनुसन्धानलाई शङ्काको नजरले नहेर्न पनि थापाले स्थानीयहरूमा आग्रह गरेका छन् । मृतक बस्नेत बिर्तामोडको एउटा सहकारी संस्थाकी कर्मचारी भएको खुलेको छ । सानिमाको घरमा स–परिवार बस्दै आएकी उनी घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार उनको शरीरका केही भागमा चोट देखिएको छ ।