इटहरीः झापा र इलाममा सोमबार बिहान शंकाष्पद अवस्थामा भेटिएको दुई जनाको शवको अनुसन्धानमा प्रहरीले ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी ४८ वर्षीय विमलाकुमारी पराजुलीको कार्यालय परिसरमै र झापा बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल नजिक आफन्तको घरमा बस्दै आएकी २५ वर्षीय सृजना बस्नेतको अर्धनग्न अवस्थामा घर अगाडी शव भेटिएको थियो । दुवै घटनाको अनुसन्धानको लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको ट्रयाकर डग ‘पिकु’ को सहयोग लिइएको हो । पिकु अहिले झापाको सृजना बस्नेतको घटना अनुसन्धानको लागि परिचालित गरिएको छ । पिकुलाई झापालत्तै उच्च अदालत विराटनगर इलाम इजलास परिसरमा भेटिएको कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको शव अनुसन्धानको लागि इलाम लगिनेछ ।
अहिले उच्च अदालत विराटनगर इलाम इजलास परिसरमा घटनास्थल सुरक्षित राखिएको छ । शंकाष्पद शव भेटिएको अबस्थामा घटना स्थलको २ सय मिटर एरिया सुरक्षित बनाउन सके ट्रयाकर डगले सुराक पत्ता लगाउने सम्भावन उच्च हुन्छ । यी दुई घटनामा परिचालित ट्रयाकर डग ‘पिकु’ जर्मन सेफर्ड प्रजातिको कुकुर हो । दुई बर्षको एडभान्स ट्रयाकर बिधाको तालिम सकेको पिकुले बिगत ७ महिनादेखि फिल्डमा खटिदै आएकी छ । ७ महिनाको समयमा पिकुले प्रहरीलाई कयौ घटनाको अनुसन्धानमा सघाइसकेको छ । सुँघ्ने क्षमता उच्च रहेको ट्रयाकर डगले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्रयाक गरी अभियुक्त पहिचान गर्ने गर्छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखामा अहिले ट्रयाकर विधामा पिकुसहित लैला नाम गरेका कुकुर कार्यरत छन् । यस्तै घटनाको अनुसन्धान गर्न १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको (रिट) समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टिम परिचालित भएको छ । रिटले दुवै घटनाको प्राविधिक विश्लेषण गरिरहेको छ ।