इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले फेरि पुनःस्थापना गरिदिएको छ ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन गरिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत एक सय ४६ जना सांसदहरुले दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले संसद विघटन असंवैधानिक रहेको ठहर्याई पुनःस्थापित गरिदिएको हो । यसका साथै पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन साउन ३ गते साँझ ५ः०० बजेसम्ममा बस्ने गरी आह्वान गर्न आदेश दिँदै सर्वोच्चले कांग्रेस सभापति देउवालाई भोलि साँझ ७ः०० बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नभएको ठहर गरेको हो ।