इटहरीः चलिरहेको बसबाट हाम फाल्दा मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित गोठगाउँमा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गा स्थायी घर भई हाल सुन्दरहरैँचा ७ बस्ने २७ वर्षीय दीपेन कट्टेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार साँझ ६ः१० बजे पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ख ७८२९ नम्बरको बसबाट हाम फाल्दा गम्भीर घाइते भएका कट्टेललाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा सोही साँझ ७ः४० बजे उनको ज्यान गएको हो ।

मृतक सवार रहेको बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय दीपक रेग्मीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।