लन्डनः विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिवार साँझ ( १० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् । संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४ दशमलव ६ प्रतिशत अर्थात ६ लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ ।