धरानः सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारको माग गर्दै काठमाडौँस्थित सिंहदरबार घेराउ गर्न पुगेका अगुवाहरुलाई पक्राउ गरेको भन्दै धरानमा विरोध प्रदर्शन भएको छ ।

धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानु चौकमा प्रदर्शन भएको हो । प्रदर्शनमा नागरिक दबाब सञ्जाल, नौ दलीय संयन्त्र र बीपी प्रतिष्ठानको संयुक्त संघर्ष समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । सहभागीहरुले भानुचोकमा उभिएर पक्राउ परेका नागरिक अगुवाहरुको रिहाइको माग गरेका थिए । प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिलाई साथ दिँदै आइतबार राजधानीमा अगुवाहरुले सिंहदरबार घेराउको कार्यक्रम राखेका थिए ।

received_202440721801800

 

सोही कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर २६ जनालाई पक्राउ गरेको थियो । धरानमा आज विरोध कार्यक्रमलाई सम्बोधन गर्दै दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माले पक्राउ परेका २६ जना अगुवाहरुलाई तत्काल रिहा गर्न माग गरेका थिए । उनले बीपी प्रतिष्ठानको समस्या समाधान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।