इटहरीः सुनसरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले आफ्नो कार्यकालमा प्रहरी भित्रदेखिएको अनियमितता र बेइमानी कम गर्न लागिपर्ने बताएका छन् ।

सुनसरीको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको १२ औँ दिन आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रहरीभित्र शुद्धिकरणमा जोड दिने बताएका हुन् । पत्रकारहरुले पछिल्लो समय प्रहरीले आर्थिक साँठगाँठमा पीडितलाई थप पीडा दिने र उजुरी लिनसम्म नमान्ने प्रवृत्ति बढ्दै गएकाले यसलाइ कम गर्न एसपी थापालाई सुझाएका थिए । जवाफमा एसपी थापाले प्रहरीको ख्यातिमा आँच आउने गरी हुने त्यस्ता गतिविधिविरुद्ध आफू लागिरहने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले आफैले सुरु गरेको ‘मुस्कान सहितको सेवा’ भन्ने अभियान नारामा मात्र सीमित भएको पत्रकारहरुले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयको गेटबाट सर्वसाधारणले प्रवेश नपाउने र उल्टै त्यहाँ तैनाथ प्रहरीबाट गाली खानु परेको गुनासोे अधिकांशले गरेका छन् । यसले समग्र प्रहरीकै प्रतिष्ठामा आँच आउने भएकाले यसलाई सुधार गर्न र नारालाई वास्तविक रुपमा व्यवहारमा उतार्न पत्रकारहरुले सुझाव दिएका छन् ।

साना ठूला वा कसैलाई काखा कसैलाई पाखा नगर्ने स्पष्ट पादै एसपी थापाले आफ्नो कार्याकालसम्म सर्वसुलभ प्रहरी सेवा प्रदान गर्नमा पनि लागिपर्ने बताए । एसपी थापाले कुनै पनि घटना भएमा थाहा पाएको पाँच मिनेटमा नै प्रहरी परिचालन गर्नेसमेत बताएका छन् । ‘हामी कुनै घटनाको जानकारी आउनासाथ पाँच मिनेटमा नै हाम्रो टिम परिचालन गर्छौँ’, एसपी थापाले भने, ‘बाटोमा लाग्ने समयबाहेक हाम्रो तर्फबाट कुनै ढिलाइ हुने छैन ।’ सुनसरी लागूऔषध कारोबार र प्रयोगका दृष्टिकोणले नेपालकै दोस्रो जिल्लामा पर्ने भएकाले आफू यसलाई कम गर्न लागिपर्ने बताएका छन् । यसभन्दा पहिला डिएसपी भएर इलाका प्रहरी कार्यालय धरानमा एक कार्याकाल बिताइसकेका एसपी थापाले सुनसरीको वस्तुस्थिति र लागूऔषधका विषयमा जानकार भएकाले त्यसलाई कम गर्नमा लागिपर्ने धेरैले विश्वाससमेत लिएका छन् । उनले पनि यी कुरा न्यूनीकरणमा लागिपर्ने बताएका छन् ।