इटहरीः सुनसरीको इटहरीबाट ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।
एक होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय ईटहरीको टोलीले गएराति पौने १२ बजे उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण एक थान, विभिन्न कम्पनीको मोबाइल तीन थान, मोटरसाइकल एक थान र नगद दुई हजारसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा इटहरी ४ का २३ वर्षीय विवेक खड्काको समेत संग्लग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । खड्काको साथबाट २९ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । पक्राउ परेकाहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १२ घर भई इटहरी ५ मा बस्दै २७ वर्षीय दिपक भन्ने वीरेन्द्र राई, इटहरी ५ का १६ वर्षीय एक बालक र इटहरी ४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् । पक्राउ परेका अभियुक्तहरुउपर सुनसरी जिल्ला अदालतको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।