खोटाङः खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको काम नौ वर्षमा ४८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत निर्माण गर्नुपर्ने पुलको काम भने चार वर्षमै सक्नुपर्ने थियो । तर तोकिएको भन्दा पाँच वर्ष बढी समय लगाइसक्दा पनि दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति भने ४८ प्रतिशत मात्र भएको छ । पुल निर्माण विक्रम संवत २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी २०६९ चैत २३ गते सम्झौता भएको थियो । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने फोक्सिङ्टारमा एक सय २० मिटर लम्बाइ हुने ‘आर्क’ डिजाइनको पक्की पुल निर्माणका लागि दोस्रोपटक थप भएको म्याद गत असार १२ गते सकिएको छ । नवौँ संशोधनअनुसार पुल निर्माणका लागि विसं २०७७ पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुनः कोभिड–१९ को महामारीका कारण विसं २०७८ असार १२ गतेसम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो ।
निर्माणाधीन पुलको हालसम्म दुई किनारको चारवटा फाउण्डेशन, चारवटा सबस्ट्रक्चर, दुवैतर्फको २०।२० मिटरको स्टेण्डलगायतका संरचना निर्माणको काम मात्र पूरा भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साइट इञ्जीनियर रवि साहले बताए । निर्माण कम्पनी गौरी–पार्वती वाइपी जेभीले निर्माणको जिम्मा लिएको उक्त पुलमा १० करोड ३३ लाख १४ हजार भुक्तानी भइसकेको छ । फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा विघटित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, पूर्वसभासद अर्जुन राईलगायतको टोलीले असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई भेटेर छलफल गर्दै पुल निर्माणको प्रगति विवरण सुनाइएको थियो । पुलको २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरेर काम अघि बढाइएको थियो । तर विसं २०७३ चैत २२ गतेसम्ममा पुलको काम नभएपछि पुनः विसं २०७५ चैत ३० गतेसम्मका लागि सम्झौता अवधिलाई लम्ब्याइएको थियो ।
सुरुमा फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो । तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको हो। फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको थियो । दोस्रोपटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । हाल ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ । तर पुलको नयाँ डिजाइन स्वीकृत भएयताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीयवासी बताउँछन् । २२ करोड ६७ लाख ११ हजार रुपैयाँमा पूरा गर्ने गरी गौरी–पार्वती वाइपी जेभीले जिम्मा लिएको उक्त मोटरेबल पक्की पुल निर्माणको गति अत्यन्तै सुस्त देखिएपछि जिल्लावासी असन्तुष्ट बनेका छन् ।
मुग्लिनको ‘आर्क’ पुलको शैलीमा निर्माण सुरु गरिएको पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै निवर्तमान प्रतिनिधिसभा सदस्य भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष विसं २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए । ठेक्का लागेको लामो समय बित्दासमेत फोक्सिङ्टार पुललगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोध गर्दै आएका छन् । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामघाटपछिको अर्को महत्वपूर्ण मार्ग फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष बर्सातको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा वर्षको करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा आवतजावतमा समस्या हुने गरेको छ । पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ ।
गत माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलाश साहका अगाडि निर्माण व्यवसायी रामकुमार थापाले फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याब ढलान गर्ने प्रतिबद्धता जनाएका थिए । फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको वर्षौँसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्ने गरी कामलाई अघि बढाउन २०७४ माघ २ गते पत्राचार गरेको थियो । -रासस