इटहरीः मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरति स्ट्रिप्स इन्डष्ट्रिजअगाडि कोसी राजमार्गमा गएराति भएको कार दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ बस्ने ४० वर्षीय रमेश आचार्य रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार बा १८ च ९७६ नम्बरको कार राति ११ः१५ बजे दुर्घटना हुँदा घाइते भएका आचार्यलाई उपचारार्थ न्युरो अस्पताल पठाइएकोमा उनको आज बिहान ०५ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
चालकले मापसे गरी चलाएका कारण भएको कार दुर्घटनामा परी विराटनगर ४ का २० वर्षीय विवेक नेपाल गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार जारी छ । यसैगरी, कार चालक बुढीगंगा गाउँपालिका १ का ४५ वर्षीय महाप्रसाद भट्टराई, सोही ठाउँका ३३ वर्षीय सन्तोष घिमिरे र ४० वर्षीय भीमप्रसाद घिमिरे सामान्य घाइते भएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।