धरानः सुनसरीको धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा शनिबार सम्पन्न नगरसभा बैठकले विनियोजन विधेयक पारित गरेसँगै आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । असार १० गते उद्घाटन भएको नगरसभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले २ अर्ब ३ करोड ६४ लाखको बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाको हिजोको बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको थियो । विनियोजन विधेयक पनि पारित भएपछि नवौं नगरसभा पनि सम्पन्न भएको हो ।

शनिबारको बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरेका थिए । बजेटबारे कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरसभाबाट पारित गरेको हो भने धरान उपमहानगरपालिका ५ नम्बर वडाबाट कोहि पनि प्रतिनिधि उपस्थित नभएको श्रोतले जनाएको छ । बजेट केन्द्रीकृत भयो भन्ने कुरा पनि राखेको ५ नम्बर वडाको उपस्थितिबिना नैै बजेटसहित नीति तथा कार्यक्रम पारित गरेसँगै नवौं नगरसभा पनि सकिएको हो ।