स्वस्थ र फिट रहनका लागि प्रतिरक्षा प्रणालीलाई बलियो राख्न जरुरी हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सङ्क्रमणको जोखिम घटाउनका लागि प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मानिसहरूले विभिन्न उपाय अपनाउँदै आएका छन् । तीमध्ये मानिसहरूले तुलसी, हर्दीदेखि लिएर गुर्जोलगायत विभिन्न जडिबुटीलाई घरेलु उपचारको रूपमा दैनिक प्रयोग गर्न थालेका छन् । बारम्बार मानिसलाई यसप्रकारको जडिबुटी मिश्रणको सेवनबाट हुनसक्ने साइड इफेक्टबाट टाढा रहन ठिक्क मात्रामा सेवन गर्नुपर्ने चिकित्सकले सुझाव दिँदै आएका थिए । कोरोना भाइरसको समयमा गुर्जोको अत्यधिक सेवनले धेरैको कलेजोमा क्षति पु¥याएको क्लिनिकल र प्रयोगात्मक हेपाटोलजीको पत्रिकामा प्रकाशित अध्ययनले देखाएको छ । मानिसमा जडिबुटी मिश्रणको प्रभाव अध्ययन गर्न, अनुसन्धानकर्ताले सन् २०२०को सेप्टेम्बरदेखि डिसेम्बरसम्म जडिबुटीका कारण कलेजोमा समस्या भई अस्पतालमा भर्ना भएका ६ बिरामीको अध्ययन गरेका छन् ।

यी बिरामी जन्डिस र शरीरमा उर्जाको कमीसहित अस्पताल आएका थिए । ती सबैमा एकदेखि छ महिनासम्म गुर्जोको सेवनको इतिहास पाइएको छ । जन्डिसबाट पीडित भई अस्पताल आएका पहिलो बिरामी स्वस्थ ४० वर्षीय पुरुष थिए । उनले दुई दिनमा एक पटक दालचिनी, ल्वाङ र गुर्जोको रस सेवन गर्ने गर्थे । पहिलादेखि स्वास्थ्यमा समस्या भएका दोस्रो र तेस्रो बिरामी ५४ र ३८ वर्ष उमेरका थिए । उनीहरूले लगभग छ महिनासम्म गुर्जोको सेवन गरिरहेको पाइयो । टाइप २ मधुमेहबाट पीडित चौथो बिरामी ६२ वर्षकी महिला थिइन् । उनले सेवन गर्ने एक सिरपमा गुर्जो थियो र सो सिरप उनले एक महिनासम्म सेवन गरेकी थिइन् । शरीरको दुखाइ, छाला, पिसाब तथा आँखाको रङ पहेँलो भएको, पेट दुखाइ तथा खान मन नलाग्ने समस्यासहित अस्पताल भर्ना भएकी थिइन् । पाँचौं र छैठौँ बिरामीमा जन्डिस र कलेजोको कार्यमा समस्या देखिएको थियो । अध्ययनको निष्कर्षले कोभिडको अवधिमा जडिबुटीको सेवनले व्यक्तिमा कलेजोमा क्षति पु¥याएको कुरा स्पष्ट पारेको छ । अनुसन्धानकर्ताले जडिबुटीको मेटाबोलिजम र यसले अन्य औषधिको साथ गरेको प्रतिक्रियाको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष कारण यस्तो भएको हुनसक्ने भनेर जोड दिएका छन् । -टाइम्स अफ इन्डियाबाट