ताप्लेजुङः कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।
कोभिडका कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो । गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बूले बताए ।
सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौँ सात हजार एक सय ९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बूले बताए । -रासस