इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका १ बाट प्रहरीले १३ वर्षीया बालिकामाथि जबर्जस्ति करणी गरेको अभियोगमा एक नेत्र चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी स्थायी घर भई सोही स्थानमा दृष्टि चस्मा घर सञ्चालन गरी बसेका २८ वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार पीडित बालिकाका आफन्तको किटानी जाहेरीका आधारमा अभियुक्त साहलाई इलाका प्रहरी कार्यालय पथरीले मंगलबार पक्राउ गरेको हो । अभियुक्त साहले एउटै फ्ल्याटमा डेरा गरी बस्ने बालिकालाई अश्लिल भिडियो देखाई पटक पटक बलात्कार गरेको एसपी जीसीले जानकारी दिए । बलात्कार भएपछि अस्वभाविक रुपमा बालिकाको स्वभावमा आएको परिवर्तन देखेर अभिभावकले सोधीखोजी गर्दा बालिकाले घटनाबारे बताएकी हुन् ।

पीडित बालिकाले प्रहरीसमक्ष पनि आफूमाथि साहले अश्लिल भिडियो देखाई बलात्कार गरेको बयान दिएकी छन् । पीडितको बयानका आधारमा पक्राउ परेका साहमाथि जबर्जस्ति करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, आफूलाई नेत्र चिकित्सक बताउने साहको योग्यतामा समेत शङ्का लागेकाले वास्तविक नेत्र चिकित्सक भए नभएको यकिन गर्न उनको शैक्षिक प्रमाणपत्रसमेत झिकाउने कार्य अगाडि बढाइएको प्रहरीको भनाइ छ ।