धरानः धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ ।
आज (शुक्रबार) आयोजित नवौं नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । शनिबार पुनः बैठक बस्नेगरी स्थगित भएको उपमहानगरपालिकाका सुचना अधिकृतसमेत रहेका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार आज सुनसरी उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे बैठक बस्नेगरी स्थगित भएको हो । आज बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।
असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनेहरुलाई नाम टिपाउन समय दिइएको थियो । नाम टिपाएका वडाध्यक्ष तथा सदस्यहरुले आजको बैठकमा कुरा राखेका थिए । बैठकमा विधेयक प्रस्तुतकर्ता उपप्रमुख मञ्जु भण्डारीले सदस्यहरुले उठाएको विषयमा प्रष्ट पारेकी थिइन् । यस्तै, प्रमुख तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनी मतले सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको हो । असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्नेगरी स्थगित भएको थियो । बजेटमा सहमति जुट्न नसकेपछि असार २५ गतेसम्मका लागि बैठक सारिएको थियो । नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित कूल बजेट २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेस भएको थियो ।