इटहरीः मोरङको विराटनगर महानगरपालिका ५ स्थित पृथ्वी चौकमा मादक पदार्थ सेवन गरी एक युवकले राष्ट्रिय अनुसन्धान विभागको सूचकका रुपमा कार्यरत हवल्दार दाजुको हत्या गरेका छन् ।
काले भनिने ३१ वर्षीय साजन सिंहले राष्ट्रिय अनुसन्धान काaर्यालय खोटाङमा कार्यरत रही हाल विदामा घर आएका प्रहरी हवल्दार ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त साजन लागूऔषध र मदिराको कुलतमा लागेपछि उनको श्रीमतिसँग सम्बन्धविच्छेद भएकोमा परिवारले भने उनकी श्रीमतिलाई नै समर्थन गरेपछि सोही विषयमा भएको विवादका क्रममा उनलाई सम्झाउन गएका भोलाको उनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले घटनामा धारिलो हतियार प्रयोग भएको अनुसन्धानबाट देखिएको बताउँदै हतियार भने फेला नपरेकाले खोजी जारी रहेको जानकारी दिएको छ । यता, अभियुक्त साजनले भने हतियार प्रहार गरेको आरोप अस्वीकार गर्दै शोकेसको सिसाले प्रहार गरेको बताएका छन् ।
गएराति १०ः३० बजे भाइको आक्रमणमा परी गम्भीर घाइते भएका भोलालाई उपचारार्थ विराटनगरकै विराट नर्सिङ होम लगिएकोमा अस्पताल पुर्यानासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । दाजुको हत्या आरोपमा पक्राउ परेका साजनउपर कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरीले हाल भने घाइते अवस्थामा रहेका उनको विराट नर्सिङ होममै उपचार भइरहेको जनाएको छ ।