इटहरीः इलाम जिल्ला अस्पतालका चिकित्सकहरुले अस्पतालमै उपलब्ध रहेको भिडियो एक्सरे सेवा प्रयोग गर्नबाट सेवाग्राहीलाई वञ्चित गरेका छन् ।
अस्पतालमा रहेको सेवा प्रयोग गर्न रोक लगाउँदै उनीहरुले अस्पतालनजिकै आफैँले सञ्चालन गरेको निजी क्लिनिकमा महङ्गो मूल्यमा भिडियो एक्सरे सेवा लिन सेवाग्राहीलाई बाध्य पारेका हुन् । निजी क्लिनिक सञ्चालन गरी सरकारी अस्पतालमा आएका बिरामीलाई त्यसतर्फ पठाई महङ्गो शुल्क असुल्ने कार्यमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रभु साह आफैँ संलग्न रहेको पाइएको छ । अस्पतालमा स्त्री रोगका बिरामीलाई मात्र भिडियो एक्सरे सेवा दिई अन्यलाई बाहिर आफ्नै र अन्य चिकित्सकले सञ्चालन गरेको मेडिकलमा साहले पठाउने गरेका छन् । अस्पतालको आसपासमा रहेका द मेडिको, दुर्गा मेडिको लगायतका क्लिनिकले भिडियो एक्सरेको सेवा दिंदै आएका छन् । द मेडिकोमा डाक्टर प्रभु र दुर्गा मेडिकोमा डाक्टर विश्रुत सापकोटाले भिडियो एक्सरे गर्ने गरेका छन् । निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीको गुनासो छ ।स्वास्थ्य बिमा गरेका केही बिरामी अस्पतालले बाहिर पठाउने गरेपछि जाँच नगराई घर फर्कने गरेका छन् । भिडियो एक्सरे गर्न आइयो तर भएन अस्पतालको गेटमा भेटिएका इलाम सोयाङका राम राईले भने डाक्टरले बाहिर गरेर आउनु भनेका छन् । तर उनी भिडियो एक्सरे नगरी घर फर्किए ।स्वास्थ्य बिमा गरेको थिए, पैसा नबोकी आए राईले भने अब अर्को दिन आउनुपर्ने भयो ।
पछिल्लो समय उनी जस्तै धेरै बिरामी यस्तै समस्या झेल्न बाध्य छन् ।अस्पतालले भने दक्ष जनशक्ति अभावमा सबै बिरामीलाई भिडियो एक्सरेको सेवा दिन नसकेको बताउँदै आएको छ । अस्पतालमा रेडियोलोजिष्ट उपलब्ध भएमा मात्र सबै बिरामीले भिडियो एक्सेरेको सेवा पाउने डा प्रभु साह बताउँछन् । बिहान १० बजेदेखी १ बजे सम्म डाक्टरहरु ओपिडीमा बस्ने गरेका छन् ।१ बजे पश्चात मात्र डा प्रभुले भिडियो एक्सरे गर्ने गरेका छन् ।एउटा मात्र भिडियो एक्सरे मेसिन भएको साथै समय नमिल्दा अस्पतालमा आफुले भिडियो एक्सेरे गर्न नसकेको अर्का डाक्टर विश्रुत सापकोटाको भनाई छ । अस्पतालले प्रदान गर्ने सेवामा समयसमयमा प्रश्न उठ्ने गरेको छ । केहीले त इलाम अस्पताललाई रिफर सेन्टरसमेत भन्ने गरेका छन् । अस्पतालमा स्वास्थ्यकर्मीबीच नै आवश्यक समन्वय र सहकार्य नहुँदा समस्या देखिने गरेको छ । अस्पतालमा हाल उपलब्ध जनशक्तिले नै सबै बिरामीलाई सेवा दिन सकिने सोही अस्पतालमा लामो समय कार्यरत एक स्वास्थ्यकर्मीे बताउँछन् । तर आवश्यक समन्वय र सहकार्य हुन नसक्दा यस्तो समस्या आएको उनको भनाइ छ । केही समय अघिसम्म कोभिडका सामान्य बिरामी उपचारका लागि झापा जानुपर्ने बाध्यता थियो ।उनले भने अहिले यही अस्पतालमा नै उपचार हुने गरेको छ । सबैले आवश्यक पहल गर्ने हो भने समस्या समाधान हुने उनको तर्क छ । यता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गणेश बरालले यसबारेमा पटक पटक कुरा गरेको तर समस्या समाधान हुन नसकेको बताए ।