इटहरीः मोरङको बेलबारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटाको हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ः०० बजे लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित तीन जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारीभित्र लुकाई राखेको लागूऔषध ब्राउनसुगर १३ ग्राम ५४० मिलिग्राम फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए । पक्राउ परेका तीनै जनाउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि मोरङ जिल्ला अदालतको आदेशमा इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।