बेलबारीः केन्द्रमा नेकपा एमालेको विबाद समाधानको नजिक भएको भनिएपनि मोरङमा भने केन्द्रलाई नै टक्कर दिनेगरी समानान्तर गतिविधिहरु भइरहेका छन् ।
बिहीबार मात्र मोरङको बेलबारीमा नेकपा एमाले माधव धलनाथ समुहले २ सय ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । एमाले बेलबारीका पुराना नेता पीपी थापामगरको संयोजकत्वमा गठित समितिका सचिवमा कमल कोइराला रहेका छन् । कमिटिका इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शंकर गुरुङ रहेका छन् । कमिटि २२ गते नै गठन गरिएको र केही प्राविधिक समस्याका कारणले आज मात्र सार्वजनिक गरिएको नवगठित कमिटिका सचिव कोइरालाले बताए ।
जिल्ला कमिटिको निर्देशन अनुसार कमिटि गठन गरिएको जनाइएको छ । नवगठित कमिटिले भने समानान्तर कमिटि नभई कमिटिलाई पुनर्गठन गरिएको जनाएको छ । ‘लामो समयसम्म कमिटिहरु चलायमान भएका थिएन्न’, नव गठित कमिटिका अध्यक्ष पीपी थापामगरले भने, ‘चाँडै नै पदाधिकारी, कार्यालय र वडा कमिटिहरु बनाउँछौँ ।’ ओली समुहले समेत एकलौटी निर्णय गर्दै यसअघि नै कमिटि बनाइसकेको छ ।