इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ हड्ताली हाटमा आधा शरीर जलेको अवस्थामा बिहीबार दिउँसो एक पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ५८ वर्षीय गंगाप्रसाद पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार शरीरको कम्मरदेखि माथिको भाग पूरै जलेको अवस्थामा गंगाप्रसादको शव भेटिएको हो । स्थानीय बासिन्दाले घरभित्र जलेर मानिसको मृत्यु भएको जानकारी दिएपछि प्रहरीले घटनाका बारेमा थाहा पाएको थियो । घटना थाहा पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर घटनाको अनुसन्धान थालेको छ । ‘आफ्नै घरभित्र आधा शरीर जलेको अवस्थामा पुरुषको शव भेटिएको छ,’ एसपी जिसीले भने, ‘शंकास्पद मानेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ ।’ प्रहरी सक्रियताले केही समयभित्रमै घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ । घटनास्थलनजिक मट्टिेलको गन्ध आउने खाली प्लाष्टिकको बोतल फेला परेको छ । मृतक आफैले मट्टितेल छर्किएर शरीरमा आगो लगाएको हुनसक्ने आशंका प्रहरीको छ ।