विराटनगरः प्रदेश १ सरकारले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालीले मनाउने प्रमुख चाडपर्वको अवसरमा संस्कृति जगेर्नाका लागि भन्दै सरकारी तवरबाट महोत्सव आयोजना हुन लागेको हो ।

कात्तिक २८ गते विराटनगरको आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उक्त महोत्सव हुने कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् । विभिन्न चाडपर्वको सन्दर्भमा छठ पर्वको अवसर पारी मेला लाग्न लागेको जनाइएको छ ।

सो कार्यक्रमको तयारी व्यापक बनाइएको जानकारी दिइएको छ । त्यसका लागि विभिन्न जिम्मेवारीसहितका समिति बनाउनेदेखि करिब ४ हजार व्यक्ति तथा संस्थालाई निमन्त्रणा पठाइसकिएको छ । विभिन्न स्थानीय तहले लोपोन्मुख समुुदायका नृत्यलाई पनि प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

जसअनुसार गढी गाउँपालिकाले झाँगड नृत्य, जहदा गाउँपालिकाले सन्थाल नृत्य, कटहरी गाउँपालिकाले बाँतर नृत्य प्रस्तुत गर्ने भएका छन् । त्यस्तै, दुहबी नगरपालिकाले थारु सांस्कृतिक झाँकी, विराटनगर महानगरपालिकाले मारवाडी सांस्कृतिक झाँकी, हरिनगरा गाउँपालिकाले मुस्लिम सांस्कृतिक झाँकी, ग्रामथान गाउँपालिकाले विभिन्न सांस्कृतिक झाँकी, धनपाल गाउँपालिकाले राजवंशी सांस्कृतिक झाँकी र रङ्गेली नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सांस्कृतिक महोत्सवमा, विल्सनविक्रम राई र दीपाश्री निरौलाका साथै जनकपुरबाट मैथिल समुुदायका कालकार आउने टुङ्गो लागिसकेको जनाइएको छ ।
‘पछि परेका समुुदायको संस्कृति जगेर्ना गर्नु हाम्रो पनि जिम्मेवारी हो’, कार्कीले भने, ‘त्यसका लागि हरेक वर्ष यस्ता कार्यक्रम हुँदै जानेछन् ।’