बेलबारीः बेलबारी नगरपालिकको आठौँ नगरसभा सम्पन्न भएको छ ।

असार १० गते पेस गरेको नीति कार्यक्रम तथा बजेट पारित गर्दै आठौँ  नगरसभा बिहीबार सम्पन्न भएको हो । नगरपालिकाको तर्फबाट उपमेयर ढाका कुमारी पराजुलीले  आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पुँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको थियो भने बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको थियो । यसैगरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को योजना तथा कार्यक्रममा कला साहित्य र पत्रकारहरुका लागि भवन निर्माण गर्ने भएको छ ।

कला साहित्य र पत्रकारहरुका लागि भवन निर्माण गर्ने, पत्रकार महासंघ प्रदेश १ अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गर्नेजस्ता जनमुखी कार्यक्रमहरु समेटिएका छन् । नगरसभामा प्रस्तुत मुख्य योजना तथा कार्यक्रमहरुमा, गरीबसँग नगरपालिका कार्यक्रम, दुःखमा नगरपालिका कार्यक्रम, भूमि बैंक, विपन्न नागरिकलाई खाद्य सुरक्षा, एक वडा एक उत्पादन, एक वडा एक जेष्ठ नागरिक चौतारी, हेल्प डेस्कको व्यवस्था, नागरिक दन्त उपहार कार्यक्रम, नेत्र ज्योति कार्यक्रम, खुल्ला व्यायामशाला निर्माण, निःशुल्क फिजियोथेरापी सेवा केन्द्र स्थापना, खुल्ला बाल उद्यान निर्माण, आधुनिक कोल्ड स्टोर निर्माण, स्मार्ट कृषि कार्यक्रम, समृद्ध कृषि कार्यक्रम, जनप्रतिनिधिसँग मनका पीडा कार्यक्रम, एक शिक्षक एक ल्यापटप अनुदानजस्ता दर्जनौँ योजनाहरु रहेका छन् ।