इटहरीः झापाका पुराना उद्योगपति पर्शुराम अग्रवालको कोरोना संक्रमणका कारण निधन भएको छ ।
जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भई असार ४ गते उपचारार्थ भारतको पश्चिम बंगाल राज्यअन्तर्गत सिलगुडी जिल्लास्थित महाराजा नर्सिङ होममा भर्ना भएका ६२ वर्षीय अग्रवालको उपचारका क्रममा गएराति ९ः०० बजे निधन भएको हो । जटिल स्वास्थ्य अवस्थाका कारण भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएपनि उनलाई बचाउन नसकिएको चिकित्सकलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । विसं. २०१६ सालमा जन्मिएका उद्योगपति अग्रवालका मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हललगायत थुप्रै उद्योग व्यवसाय सञ्चालित छन् ।
प्रारम्भमा फुटपाथमा कपडा पसल सञ्चालन गरी व्यवसायमा पाइला चालेका उद्योगपति अग्रवाल नेपालकै अग्रणी उद्योगपतिका रुपमा चिनिएका थिए । व्यवसायका साथै समाजसेवामा समेत सक्रिय भूमिका निर्वाह गरेका उद्योगपति अग्रवालले मोहपाल धर्मशालामा समाजसेवा टस्ट, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर निर्माणमा भूमिका निर्वाह गरेका थिए ।