भरतपुरः पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको सेतीदोभानमा बुधबार राति ८ बजेतिर चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहे पनि सम्भव हुन सकिरहेको छैन । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाएपछि मात्रै सडक सञ्चालनमा आउने उनको भनाइ छ । पहिरोका कारण अवरुद्ध बनेपछि बुधबार बिहान ९ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो ।
पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदा सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् । -रासस