इटहरीः झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर–बिर्तामोड सड खण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मे २ प २५३२ नम्बरको मोटरसाइकलका चालक भद्रपुर–६ का ५० वर्षीय ताराकान्त झा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार गएराति ११ः४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प २५३२ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई सडकमा रोकी राखेको ना ३ ख ८५४२ नम्बरको ट्रक ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका झालाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारका क्रममा उनको आज बिहान २ः४५ बजे ज्यान गएको डीएसपी तिम्सिनाले बताए । यसैबीच, सोही दुर्घटनामा परी मोटरसाइकल ठोक्किएकै ट्रकमा सामान लोड गरिरहेका ट्रक चालक झापाको बुद्धशान्ति गाउँपालिका घर भएका ३५ वर्षीय कमल ढुङ्गेल पनि सामान्य घाइते भएकोमा उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार गरिएको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।