इटहरीः पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–७ मा गएराति स्करपिओ ट्रकसँग ठोक्किँदा सात जना घाइते भएका छन् ।
घाइते हुनेहरु सबै स्कर्पियोमा सवार यात्री रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ च ११५६ नम्बरको स्करपिओ र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ४११७ नम्बरको ट्रक राति १०ः३० बजेतिर ठोक्किँदा दुर्घटनामा स्कोरपिओ चालक सिरहाको लाहान नगरपालिका–४ का २८ वर्षीय तोथ अन्सारी, ३२ वर्षीया दौपति यादव, १६ वर्षीय राहुल यादव, १५ वर्षीया गायत्री यादव, १७ वर्षीय माधव यादव, ४५ वर्षीय परियद यादव र १२ वर्षीय आलोक यादव घाइते भएका थिए ।
घाइतेहरु सबै सामान्य अवस्थामा रहेको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार जारी रहेको बताउँदै डीएसपी तिम्सिनाले घटनाको अनुसन्धानका लागि दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको जानकारी दिए । दुर्घटनालगत्तै ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी तिम्सिनाको भनाइ छ । साँघुरो सडकका कारण दुईवटा सवारी साधन ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।