इटहरीः पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिदिम–२ पल्लोटारका ५९ वर्षीय जीवनारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार अभियुक्त श्रेष्ठले जेठ २९ गते राति धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेका थिए । अभियुक्त श्रेष्ठलाई जिल्ला अदालत पाँचथरको आदेशमा कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । अभियुक्त श्रेष्ठ जिल्ला यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको उनको भनाइ छ । घटना भएलगत्तै प्रहरीले अनुसन्धानमा सहजीकरण गर्नका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सई दयानन्द श्रेष्ठको कमान्डमा तालिमप्राप्त कुकुर ‘लैला’ र ‘पिकु’ लाई पाँचथर पठाएको थियो ।
कर्तव्य ज्यानजस्ता सम्वेदनशील घटनाहरूमा अपराधी तथा प्रमाण पहिचान गर्न ट्रयाकर विधाको डग प्रयोग गरिन्छ । लैला र पिकुले घटना अनुसन्धानमा केही महत्त्वपूर्ण सुराक र शङ्कास्पद व्यक्ति पहिचान गराउन प्रहरीलाई मद्दत गरेको थियो । दुवै कुकुरको सक्रियतामा प्रहरीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको हो । मृतक इङ्वा भारतीय सेनाबाट अवकास प्राप्त गरी ८४ वर्षीया श्रीमति कालिमायासँग बस्दै आएका थिए । टाउको र शरीरमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो ।