काठमाडौँः थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार एक समारोहका बीच अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो । अस्पतालका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर आईभीएफ सेन्टरको उद्घाटन गरेका हुन् । चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ । डा. शर्माका अनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइनेछ । ‘देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नर्भिकको आईभीएफ सेन्टरमा आएपछि आवश्यक कुनै पनि जाँच गर्न कतै जानुपर्दैन । सबै खालको सेवा यही उपलब्ध छ ।’
डा. शर्माले भनिन्–‘नर्भिकको आइभिएफ सेन्टर देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध भएको सेन्टर पनि हो ।’ प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ । डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौँका विभिन्न अस्पतालसँग आबद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ । बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।