तेह्रथुमः ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ स्थित दोभान बजारका अग्निपीडितहरूको लागि नेपाल बैंक लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल बैंक लिमिटेड १ नं. प्रदेश प्रमुख सुर्यप्रकाश भट्ट, नेपाल बैंक लिमिटेड १ नं. प्रदेशका उपप्रबन्धक विजयराज पण्डित र नेपाल बैंक लिमिटेड आठराई शाखाका प्रमुख शेखर न्यौपानेले संयुक्तरूपमा मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू र उपाध्यक्ष कल्पना तुम्वाहाम्फेलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए । सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाल बैंक लिमिटेड १ नंं. प्रदेश प्रमुख भट्टले विपतमा परेका सबै क्षेत्रमा नेपाल बैंकले सहयोग गर्दै आएको बताए ।
दोभान बजारका अग्निपीडितका लागि नेपाल बैंकले सहयोग रकम उपलब्ध गराएकोमा गाउँपालिका अध्यक्ष लिम्बूले आभार व्यक्त गरे । उपलब्ध भएको सहयोग रकम चाँडै पीडित परिवारलाई वितरण गरिने उनले बताए । दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीबाट ५० घरको ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।