इटहरीः मोरङको बुढीगंगा गाउँपालिकामा औद्योगिक घराना गोल्छा समूहको गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित हुलास वायर इन्डष्ट्रिजमा कार्यरत ९३ जना कामदारलाई उद्योग प्रशासनले नियुक्तिपत्र दिन इन्कार गर्दै निस्कासन गरेको छ ।

नियुक्तिपत्र माग गर्दा उद्योगले दिन एक वर्षदेखि आलटाल गरेपछि मजदुरहरुले श्रम कार्यालय मोरङमा मंगलबार उजुरी दिएसँगै उजुरी दिने सबै कामदारलाई कम्पनीले बुधबार निस्कासन गरेको हो । नियुक्तिपत्र माग गरेकै कारणले निस्कासन गरिएका मजदुरहरुले पुनर्वहाली माग गर्दै उद्योगको गेटअगाडि धर्ना दिन सुरु गरेका छन् । नियुक्तिपत्र नदिइएको व्यहोराको उजुरी दर्ता गराएको भोलिपल्ट कम्पनीले कामदारलाई निस्कासन गरेको नेपाल ट्रेड युनियन काङ्ग्रेसनिकट नेपाल कारखाना श्रमिक सङ्घ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए । ‘२०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ति पत्र दिने सहमति भएको थियो ।

तर उद्योगले सधैँ झुुलायो,’ उनले भने,‘ हिजो (मङ्गलबार) मात्रै श्रम कार्यालयमा उजुरी गरेका थियौं, आज उद्योगले कामदारलाई निकाल्यो ।’ राज्यलक्ष्मी गोल्छाले सञ्चालन गरेको सो उद्योगमा कार्यरत सात सय ५० जना मजदुरहरुमध्ये अधिकांश नियुक्तिपत्रबिना नै कार्यरत रहेका छन् । उद्योगमा कार्यरत कुनै पनि मजदुरलाई कानून बमोजिमको सेवा सुविधा नदिएको उद्योग सँस्थापनले कर्मचारीलाई अवकाश दिँदा ट्रेड युनियनसँग छलफल गर्नुपर्ने सर्तसमेत अटेर गर्दै आएको छ । कर्मचारी निस्कासन गरेको विषयमा जानकारी दिन उद्योगका महाप्रबन्धक मुकेश कोठारीले अस्वीकार गरेका छन् ।