इटहरीः झापाको बिर्तामोड नगरपालिका ८ बाह्रघरेमा विद्युत् जडान गर्न गएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार रामकुमारी दर्जीको घरमा विद्युत् मिटर जडानका लागि पोलमा चढेका भट्टराई करेन्ट लागेर भुइँमा लडेपछि टाउको चोट लागी गम्भीर घाइते भएका थिए । घाइते भट्टराईलाई उपचारार्थ बिर्तामोडमै रहेको बीएन्डसी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।
मृतक भट्टराई नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रमा कार्यरत रहेको जनाउँदै इलाका प्रहरी कार्यालय अनारमनीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।