इटहरीः इलामको इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।
सोही ठाउँ घर भएका ५८ वर्षीय धनबहादुर राईको भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सोही स्थान घर भएका ४५ वर्षीय यमबहादुर सावाँले खुकुरी प्रहार गरी राईको हत्या गरेका हुन् । आज बिहान ७ः०० बजे राईको पेटमा साँवाले खुकुरी प्रहार गर्दा उनको ज्यान गएको एसपी राईले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई हत्यामा संलग्न यमबहादुरलाई खुकुरीसहित पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट म्याद थप गराई उनीउपर कर्तव्य ज्यान अभियोगमा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको एसपी राईले प्रष्ट पारे । तत्काल हत्याको गर्ने कारण खुल्न सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।