इटहरीः नेपाल राष्ट्र बैँकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्था जीवन विकास लघुवित्त वित्तिय संस्थाको आइपीओ बाँडफाँट भएको छ ।

सँस्थाको सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार बुधबार विहान ९ः३० बजे आइपीओ बाँडफाँट गरिएको हो । संस्थाले सर्वसाधारणको लागि प्रतिकित्ता एक सयका दरले १८ लाख ४८ हजार १५ कित्ता सेयर निष्कासन गरेको थियो । तर, करिब २५ लाख डिम्याट प्रयोगकर्ता र त्यसमा पनि १८ लाख सक्रिय प्रयोगकर्ता रहेको नेपालमा यस सँस्थाको सेयर ३ करोड १२ लाख ६६ हजार दुई सय ६२ कित्ताका लागि आवेदन परेको छ । यो सँस्थाले निष्कासन गरेको सेयरभन्दा १६ दशमलव १२ गुणा बढी हो ।


सँस्थाले बाँडफाँड गरेको सेयरमा भाग्यमानी पाँच जनाले थप एक÷एक कित्ता सेयर बोनसको रुपमा पाएको क्यापिटलले जानकारी दिएको छ । लगानीकर्तामा बाँडफाँट गर्दा पाँच कित्ता सेयर बाँकी रहेकाले गोला प्रथाका आधारमा भाग्यमानी पाँच जनालाई ११÷११ कित्ता दिइएको हो । सेयर भर्नेमध्ये ८ दशमलव ८७ प्रतिशतले १०÷१० कित्ता सेयर पाएका छन् भने ९१ दशमलव १३ प्रतिशतले खाली हातमा चित्त बुझाउनु परेको छ ।

रिजल्ट कसरी हेर्ने ?
गत मंगलबार एक सातासम्मा सेयर बाँडफाँड गरिसक्ने जानकारी दिएको एनएमबी क्यापिटलले बुधबार नै सेयर बाँडफाँड गरेको छ । सेयर आवेदकले एनएमबी क्यापिटलको आधिकारीक वेवसाइटमा गएर वा आइपिओ रिजल्ट डट सिडिएससी डट कम डट एनपीमा गएर हेर्न सक्नेछन् । यसका साथै अन्य वेवसाइटबाट पनि सेयर परे नपरेको हेर्न सकिनेछ ।