विराटनगरः बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा मङ्गलबार राति ठूलो जनधनको क्षति भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । बाढी र पहिरोमा परेर चार जना बेपत्ता भएका छन् । एउटा गाडी बगाएको छ । दर्जनौँ घरमा क्षति पुगेको छ । बाढी र पहिरोले पशुचौपायसमेत बगाएको छ ।

बाढीले बगाउँदा युवक बेपत्ता, घर र बाख्रा बगायो
बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मङ्गलबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्मलाई बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनैलाई बगाएको स्थानीयवासीले बताएका छन् ।
पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । बाढीसँगैको पहिरोले स्थानीय चन्द्र कार्कीका ४१ वटा बाख्रा पुरेको छ । वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् । पूरा विवरण आउन बाँकी छ ।

वडा नम्बर २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन् । बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाले व्यासका ५५ घरमा क्षति
वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् । बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् । नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ । छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए ।

गाडीसहित तीन जना बेपत्ता
 पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । मङ्गलबार रातिको भीषण वर्षापछि बढेको खोला तर्ने क्रममा बाढीले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जनालाई बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि बेपत्ता भएकाको अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ । -रासस