इटहरीः पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औँ जन्मदिन परेको छ ।

आजबाट उनी ७५ औँ वर्षमा प्रवेश गरेका छन् । तत्कालीन युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्यलक्ष्मीको माइला छोराका रुपमा २००४ साल असार २३ गते उनको जन्म भएको थियो । पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका शाह २००७ सालमा आफ्ना बुबा महेन्द्र र हजुरबुबा तथा तत्कालीन राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुगेपछि तीन वर्षको उमेरमा राजा बनेका थिए । सो समयमा तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले शासन व्यवस्था सञ्चालन गरेका थिए । तत्कालीन जहानियाँ शासक राणा, नेपाली कांग्रेस र आफ्ना बीचमा दिल्लीमा भएको सहमतिपछि तत्कालीन राजा त्रिभुवन नेपाल फिर्ता भई शासन नसम्हालेसम्म करिब तीन महिना नेपालको राजाका रुपमा रहेका ज्ञानेन्द्रको शासनलाई अन्तर्राष्ट्रिय समुदायले समेत मान्यता दिएको थियो ।

उनको शासनकालमा उनकै नामबाट मुद्रासमेत चलेको थियो । छोटो अवधिका लागि राजा बनेर पछि आफ्ना हजुरबुबा त्रिभुवनलाई शासन सुम्पेका ज्ञानेन्द्र शाह त्यस पछिका राजाहरु महेन्द्र, वीरेन्द्र र दीपेन्द्रकोे शासनपछि दोस्रो पटक २०५८ जेठ २२ गतेदेखि २०६५ जेठ १५ गतेसम्म राजाका रुपमा रहे । यद्यपि, २०६३ वैशाख ११ गते उनले गद्दी परित्याग गरिसकेका थिए । विगतका वर्षहरुमा निर्मल निवासमा विशेष कार्यक्रम आयोजना गरी पूर्वराजाको जन्मोत्सव मनाउने गरिएपनि दुई वर्षयता भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन सकेको छैन ।