मुम्बईः चर्चित बलिवुड अभिनेता दीलिप कुमारको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनलाई यसै महिना दुई पटकसम्म अस्पताल भर्ना गरिएको थियो । मुम्बईको पीडी हिन्दुजा अस्पतालका पल्मोनोलोजिस्ट डा.जलिल पार्करले अभिनेता दीलिपकुमारको निधन भएको पुष्टि गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । यसअघि दीलिप कुमारको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनकी पत्नी तथा अभिनेत्री सायरा बानुले उनको स्वास्थ्य अवस्था स्थीर रहेको तर अस्पतालबाट डिस्चार्ज गर्ने अवस्था भने नरहेको बताएकी थिइन् । यसअघि अस्पतालबाट डिस्चार्ज भएको १० दिनपछि स्वासप्रस्वासमा समस्याका कारण उनलाई स्थानीय अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । वियोगान्त नायकको रुपमा परिचित दीलिप कुमारले ६५ भन्दा बढी चलचित्रहरुमा अभिनय गरेका थिए ।

Mughal-E-Azam-2-346x260

Dilip-Kumar-gets-discharged-from-Hospital-346x260

उनले सन् १९४४ मा चलचित्र ‘ज्वारभाटा’ बाट आफ्नो फिल्मी यात्रा प्रारम्भ गरेका थिए । सोको तीन वर्षपछि उनले अभिनेत्री नुर जहाँका साथमा अभिनयन गरेको नाटक ‘जुगनु’ ले अत्याधिक सफलता पाएको थियो । यसका अतिरिक्त अभिनेता दीलिप कुमारले चलचित्र दाग (सन् १९५४), देवदास (सन् १९५५), आजाद (सन् १९५६), नया दौर (सन् १९५७) मुगल ए आजम (सन् १९६०), गंगा जमुना, (सन् १९६१), राम और श्याम (सन् १९६७), दास्ताँ (सन् १९७२), क्रान्ति (सन् १९८१), कर्मा (सन् १९८६) जस्ता चलचित्रमा अभिनय गरेका थिए । उनी पछिल्लो पटक सन् १९९८ मा किला चलचित्रमा देखिएका थिए । -बलिवुड हङ्गामाबाट