इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ८ सिद्धकाली चोकस्थित कोसी राजमार्गमा गएराति भएको स्कर्पियो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५४ वर्षीय पैदलयात्री डिकप्रसाद बास्तोला रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरलिे जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आइरहेको बा १३ च ३०८३ नम्बरको स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका बास्तोलालाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा राति ११ः४५ बजे उनको ज्यान गएको हो ।

सोही दुर्घटनामा परी घाइते भएका स्कर्पियोमा सवार सुनसरीको दुहबी नगरपालिका–५ घर भएका निर्माण व्यवसायी ७० वर्षीय सपनकुमार दासको पनि बीपी प्रतिष्ठानमै उपचार जारी रहेको बताउँदै डीएसपी तिम्सिनाले स्कर्पियोका चालक मोरङको बेलबारी नगरपालिका–५ का ३६ वर्षीय बुद्ध श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रष्ट पारे । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।