इटहरीः आफ्ना सांसद मोहन खड्कामाथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभा बैठकमै संसदीय मर्यादाविपरीत गालीगलौज गरेको भन्दै नेकपा माओवादी केन्द्रले निरन्तर रुपमा अवरुद्ध पार्दै आएको प्रदेश १ को प्रदेशसभा बैठक आज बिनाअवरोध सञ्चालन भएको छ ।

असार १४ गते बसेको प्रदेशसभा बैठकका क्रममा सांसद खड्कालाई ‘तपाईँ भिजन भएको नेता होइन’ भन्दै व्यक्तिगत रुपमा गालीगलौज गरेका थिए । मन्त्री गुरुङको यस्तो अभिव्यक्ति मर्यादाविपरीत भएकाले उनले क्षमायाचना गर्नुपर्ने तथा उनको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट समेत हटाउनुपर्ने माग गर्दै सांसद खड्काको पार्टी नेकपा माओवादी केन्द्रले असार १५ गते बसेको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको थियो । बैठक बसेको तीन मिनेटमै स्थगित गर्दै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले आजका लागि बैठक तय गरेका थिए । त्यसैगरी असार २० गतेको बैठकमा पनि माओवादी केन्द्रले अवरोध गरेको थियो । निरन्तर चार ओेटा बैठक अवरुद्ध गरिएपछि आज बसेको बैठकमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार मन्त्री गुरुङले रोस्टममा बोल्ने क्रममा सभामुखको रुलिङपछिको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए ।

गालीगलौज गर्ने मन्त्री गुरुङ र गाली खाने सांसद खड्का एउटै जिल्ला ओखलढुङ्गाका सांसद हुन् । माओवादी केन्द्र र एमाले संयुक्त रूपमा चुनावी अभियानमा जाँदा ओखलढुङ्गा को ‘क’बाट गुरुङ र ‘ख’बाट खड्का निर्वाचित भएका थिए ।