इटहरीः कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते पुनः प्रधानमन्त्रीमा नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिने क्रममा भनेको शब्द हो, ‘त्यो पर्दैन’ ।
सपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले प्रतिज्ञा गर्छु भन्ने शब्द ओलीलाई दुई पटकसम्म उचारण गर्न लगाउँदा ओलीले ‘त्यो पर्दैन’ भनेपछि त्यसयता यो शब्द खुब ‘भाइरल’ बनेको छ । अहिले नेपालमा सेयर खरिद गर्ने ‘ट्रेण्ड’ चलेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब २४ लाख हाराहारीमा डिम्याट प्रयोगकर्ता रहेका छन् । तीमध्ये १८ लाख सक्रिय प्रयोगकर्ता छन् । प्रयोगकर्ताको संख्या अत्याधिक भए पनि सेयर निष्कासन गर्ने कम्पनीले भने प्रयोगकर्ताभन्दा झण्डै १६ देखि २० गुणा कम मात्रामा आईपीओ जारी गर्ने गरेको छ । जम्मा १० कित्ताका लागि आवेदन खुल्ने, त्यसमा पनि एक चौथाइको हात रित्तै हुने हुँदा लगानीकर्ताहरु ‘त्यो पर्दैन’ भन्न थालेका छन् । पछिल्लो पटक मनोकामन स्मार्ट लघुवित्त वित्तीय सँस्था लिमिटेडले सर्वसाधारणको लागि तीन लाख ८९ हजार कित्ता सेयर निष्कासन गरेको थियो । असार १७ गतेदेखि २१ गतेसम्म जारी रहने गरी निष्कासन गरिएको यो सँस्थाको आईपीओमा २० लाख ४० हजार भन्दा बढीको आवेदन परेको छ । यस सँस्थाले जारी गरेको आईपीओको भन्दा ३७ गुणा बढी आवेदन परेको हो ।
जसबाट ९८ प्रतिशतले खाली हातमा चित्त बुझाउनुपर्ने भएको छ । मनोकामनाजस्तै अन्य लघुवित्तले पनि सेयर जारी गर्ने तर लगानीकर्तालाई पुग्नेगरी आईपीओ नै ल्याउन नसकेकाले ‘त्यो कम्पनीको आईपीओ भर्न पर्दैन’ भन्न थालेका हुन् । यसअघि असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको जिवन विकास लघुवित्त वित्तीय सँस्थाको पनि अवस्था उस्तै छ । सँस्थाले सर्वसाधारणको लागि प्रतिकित्ता एक सयका दरले १८ लाख ४८ हजार १५ कित्ता सेयर निष्कासन गरेको थियो । तर, करिब २५ लाख डिम्याट प्रयोगकर्ता र त्यसमा पनि १८ लाख सक्रिय प्रयोगकर्ता रहेको नेपालमा यस सँस्थाको सेयर ३ करोड १२ लाख ६६ हजार दुई सय ६२ कित्ताका लागि आवेदन परेको छ । यो सँस्थाले निष्कासन गरेको सेयरभन्दा १६ दशमलव १२ गुणा बढी हो । यस सँस्थाको सेयरमा पनि ९१ दशम १३ प्रतिशतको हात खाली हुनेछ भने ८ दशमलव ८७ प्रतिशतले मात्र दश कित्ताका दरले सेयर पाउने छन् ।
पटक–पटक आवेदन दिँदा पनि आईपीओ आफूले पाउन छोडेपछि लगानीकर्ताहरु निराश मात्र भएका छैनन्, निकट भविष्यमा नै निष्कासन गर्ने भनिएका कम्पनीको सेयरका विषयमा पनि पूर्वानुमान गर्न थालेका छन् । अब लगत्तै युनियन लाइफ इन्सुरेन्सले आईपीओ सार्वजनिक गर्दैछ । यद्यपि युनियन लाइफले ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधरणकै लागि ल्याउने जानकारी दिएको छ । प्रतिकित्ता एक सयका दरले बिक्री हुन लागेको यसको आईपीओ पनि जम्मा १० कित्ताका लागि मात्र आवेदन दिनुपर्नेछ । संख्यात्मक रुपमा सेयर संख्या बढी भएपनि अहिले रहेका लगानीकर्ताका हकमा यो ३ दशमलव ७ गुणा कम हो । यो सँस्थाको सेयर ६ लाख ४५ हजार लगानीकर्ताले प्राप्त गरेपनि साढे १७ लाख लगानीकर्ताको हात खाली हुने देखिन्छ । यसैकारण अहिले लगानीकर्ताले ‘त्यो पर्दैन’ भन्ने वाक्यांश प्रयोग गर्न थालेका हुन् ।