इटहरीः धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ ।
असार ९ गतेबाट सुरु भएको नगरसभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । असार ९ गते नगरसभामा मेयर नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, उपमेयर मञ्जु अधिकारीले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो । चालु आर्थिक वर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो ।
नगरसभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिए । सातौँ नगरसभाको पहिलो बैठकले महालक्ष्मी नगरपालिकाको आफ्नै नगरगान पनि सार्वजनिक गरेको थियो । महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ । धनकुटामा आफ्नै नगरगान र नगरको बेग्लै लोगो प्रयोगमा ल्याउने महालक्ष्मी पहिलो पालिका हो ।