बलिवुड चलचित्र निर्माता करण जोहरका चलचित्रहरुमा एकैसाथ थुप्रै कलाकारहरुको सामूहिक अभिनय देख्न सकिन्छ ।
तीन फरक पुस्ताका सुपरस्टारहरु अमिताभ बच्चन, शाहरुख खान र ऋतिक रोसनलाई लिएर चलचित्र ‘कभी खुसी कभी गम’ निर्माण गरेका जोहरले आफ्नो आगामी चलचित्रमा धर्मेन्द्र, जया बच्चन, सवाना आजमी, रणवीर सिंह र आलिया भट्टलाई एकैसाथ मुख्य भूमिकामा पर्दामा उतार्न लागेको चर्चा चुलिएको छ । स्रात भन्छ, ‘यो अत्यन्त पारिवारिक भावनात्मकताको पृष्ठभूमिमा निर्मित प्रेम कथा हो । करण पाँचदेखि ६ महिनाका लागि आगामी सेप्टेम्बरदेखि यस चलचित्रको काममा निस्कनेछन् । यो करण जोहरको ठूलो बजेटको पारिवारिक चलचित्र निर्माण गर्ने अभ्यासतर्फ पुनरागमन हो ।’ चलचित्रको शीर्षक रणवीर र आलियाले भूमिका निर्वाह गरेको चरित्रको वरिपरि घुम्छ ।
चलचित्रको शीर्षकको औपचारिक घोषणा करण, रणवीर र आलियाले एकैसाथ गर्ने भएका छन् भने बाँकी कलाकारको भूमिका त्यसपछि प्रष्ट हुँदै जाने बताइएको छ । यो चलचित्रबाट करण जोहरले पाँच वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका छन् । यसअघि उनले चलचित्र ‘ए दिल है मुस्किल’ मा निर्देशकको भूमिका निर्वाह गरेका थिए । सोभन्दा अघि उनले सुरु गर्न चाहेको चलचित्र ‘तख्त’ को निर्माण स्थगित भएको छ । निर्माणको चर्चामा रहेको चलचित्र करण जोहरको अभिनेता धर्मेन्द्रका साथ पहिलो सहकार्य हो । जसमा जया बच्चन र सवाना आजमीको पनि साथ रहनेछ । -बलिवुड हङ्गामाबाट