इटहरीः सुनसरी वराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरीकै रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान १ः०० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुति भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भेनबाट अवैध लागूऔषध गाँजा एक सय ५० किलो र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोलसमेत बरामद भएको थियो ।
गाँजा ओसारपसारमा संलग्न दुई अभियुक्त पक्राउ परेपनि अन्य दुई जना भने प्रहरीलाई देख्नासाथ फरार भएकाले निजहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए । पक्राउ परेका अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।