इटहरीः झापा र मोरङमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

झापाको वुद्धशान्ति गाउँपालिका–४ स्थित मेचि राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ झर्दै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप गाडीले मे ९ प ९२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक इलाम नगरपालिका–९ का २८ वर्षीय नारायण कार्कीलाई उपचारार्थ बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको साँझ ७ः०० बजे ज्यान गएको हो ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार इलाम–४ का ३६ वर्षीय मनिष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहको तथा पिकअप भ्यानका चालक इलाम सन्दकपुरका ३६ वर्षीय वीरेन्द्र राईलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको डीएसपी तिम्सिनाले बताए । यसैगरी, मोरङको विराटनगर महानगरपालिका ७ स्थित नेपाल राष्ट्र बैँकनजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भई चालकको ज्यान गएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का ४७ वर्षीय टीका मेचे रहेको डीएसपी तिम्सिनाले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका मेचेलाई उपचारार्थ विराटनगरकै गोल्डेन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको साँझ ७ः४० बजे उनको ज्यान गएको हो । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।