इटहरीः १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बीसीले प्रहरी कर्मचारीले कुनै पनि गैरव्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताएका छन् ।
बीसीले पदभार ग्रहण गरेसँगै १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्समार्फत् निर्देशन दिँदै उक्त कुरा बताएका हुन् । बीसीले प्रमाणमुखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरूको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरूलाई प्राथमिकतामा राखी फछ्र्यौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा विशेष ध्यान दिन र लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न तथा सीमावर्ति क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागी दत्तचित्त भएर लागिपर्नसमेत निर्देशन दिएका छन् । डीआईजी बीसीले जारी गरिएको प्रहरी कर्मचारीहरूको आचारसंहितासम्बन्धी कार्यादेश २०७७ को अक्षरसः पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराब आचरण प्रस्तुत गनेलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए ।
कुनै पनि नागरिकलाई बिना झन्झट प्रहरी सेवा प्राप्त गर्ने वातावरण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरूले नागरिकहरूसँग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धित कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, वर्षातको समयमा बाढी, पहिरो डुबान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन, प्राकृतिक स्रोत साधनको अवैध दोहन हुन नदिनेतर्फ विशेष चनाखो हुन तथा कोभिड १९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्नसमेत डीआईजी बीसीले निर्देशन दिएका छन् । यस्तै सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा डीआईजी बीसीले आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने बताएका छन् । सीमावर्ति क्षेत्रबाट हुने अवैध चोरी तस्करी तथा विविध आपराधिक घटनाहरू नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रूपमा अगाडि बढ्ने पनि बीसीले बताए ।