धरानः धरान वडा नं. ५ स्थित खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ ।

सोमबार धरान उपमहानगरपालिका परिसरमा संघीय सरकारको ससर्त अनुदानअन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र चार थान एग्रोनेट (तरकारीजन्य खेति लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो । उक्त सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरेका हुन् । मेयर राईले कृषि पेसाप्रति आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सही ढंगबाट सदुपोग गर्न आग्रह गरे । मेयर राईले उक्त सामग्री एकलौटी नभई समुह अर्थात छरछिमेकमा बाँडेर चलाउन पनि सुझाव दिए ।

धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले संघीय सरकारको ससर्त अनुदानअन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिए । सोही बजेटअन्र्तगत धरान ५ मा रहेको खैरेनी कृषि समुहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री आज हस्तान्तरण गरिएको अधिकृत तामाङले बताए । अन्नबालीमा लाग्ने रोग र किरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतिका लागि एग्रोनेटले ठूलो मद्दत गर्ने अधिकृत तामाङको भनाइ छ । खैरेनी कृषि समुहमा ४८ जना छन् । कृषि समुहका किसानहरुले उक्त सामग्री पाएपछि खुसी व्यक्त गरेका थिए ।