इटहरीः गत असार ११ गतेबाट आइ.पी.ओ निष्कासन गरेर पाँच दिनसम्म बिक्री वितरण गरी असार १५ गते बन्द गरेको जीनव विकास लघुवित्त वित्तीय संस्थाले यसै साताभित्र सेयर बाँडफाँट गर्ने भएको छ ।

सँस्थाको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आगामी शुक्रबारसम्म सेयर बाँडफाँड गरिने भएको हो । सोमबारसम्ममा डेटा रुजु (भेरिफिकेसन) को काम सकिएकाले यो साता सम्ममा गोलाप्रथाद्वारा सेयर बाँडफाँट गर्ने तयरी गरिएको छ । सँस्थाले सर्वसाधारणको लागि प्रतिकित्ता एक सयका दरले १८ लाख ४८ हजार १५ कित्ता सेयर निष्कासन गरेको थियो । तर, करिब २५ लाख डिम्याट प्रयोगकर्ता र त्यसमा पनि १८ लाख सक्रिय प्रयोगकर्ता रहेको नेपालमा यस सँस्थाको सेयर ३ करोड १२ लाख ६६ हजार दुई सय ६२ कित्ताका लागि आवेदन परेको छ । यो सँस्थाले निष्कासन गरेको सेयरभन्दा १६ दशमलव १२ गुणा बढी हो ।

सँस्थाले जारी गरको सेयरमा नेपाल धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गरिने एनएमबी क्यापिटलले जानकारी दिएको छ । प्रतिव्यक्ति १० कित्ताका दरले सेयर बाँडफाँट हुने हुँदा एक लाख ८४ हजार आठ सय एक जनाले मात्र सेयर पाउने छन् । बाँकीको हात रित्तै हुनेछ । सेयर भर्नेमध्ये ८ दशमलव ८७ प्रतिशतले १०÷१० कित्ता सेयर पाउनेछन् भने ९१ दशमलव १३ प्रतिशतले खाली हात फर्कनुपर्ने छ ।