इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा यथावत राख्ने भएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि सकिन लागेकोमा सँगै आगामी असार ३१ गते मध्यराति १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार यसअघि जारी गरिएको निषेधाज्ञा असार २२ गते मध्यराति १२ः०० बजेसम्म कार्यान्वयमा रहने भएकाले सो अवधिअगावै निषेधाज्ञा थप गरिएको हो । थप गरिएको निषेधाज्ञा सुरु भएपछि अर्थात् असार २३ गतेदेखि निजी र सार्वजनिक दुवै किसिमका सवारी साधन जोरी बिजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको बताउँदै प्रजिअ ढकालले झापा र मोरङसँग पनि यातायात सञ्चालनबारे समन्वय भइसकेकाले त्यसतर्फ जान पनि समस्या नहुने उल्लेख गरे ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रजिअ ढकालले केन्द्रले राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टसमेत बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको बताए । उनका अनुसार औषधि, स्वास्थ्य सामग्री, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बीउबिजन बिक्री गर्ने पसल दिनभर सञ्चालन गर्न सकिनेछ । सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, डान्स बार, सैलुन, ब्युटिपार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखानाजस्ता क्षेत्र भने पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।