इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १ आँपगाछिस्थित कोसी राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

को १ क ३४४१ नम्बरको दुध बोक्ने गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले बताए । उनका अनुसार दुवै सवारी उत्तरबाट दक्षिणतर्फ गइरहेकोमा ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको परिचयसमेत खुल्न सकेको छैन ।

दुर्घटनालगत्तै घटनास्थलमा परिचालित प्रहरीले घाइते मोटरसाइकल चालकलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उनले जानकारी दिए । दुर्घटनाको कारण तिव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाउँदै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।