कोरोना भाइरसविरुद्धको खोप लिनुअघि पेनकिलरको सेवन नगर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सुझाएको छ ।

सामाजिक सञ्जालमा साइड इफेक्टलाई कम गर्न खोप लिनुअघि पेनकिलरको सेवन गर्नु पर्छ भन्ने फैलिरहेको हल्लालाई खण्डन गर्दै डब्लुएचओले खोप लिनुअघि पेनकिलरको सेवन नगर्न चेतावनी दिएको हो । डब्लुएचओका अनुसार साइड इफेक्टलाई रोकथाम गर्न कुनै पनि मानिसलाई खोप लगाउनुअघि पेनकिलर लिन सल्लाह दिइएको छैन । खोप लगाउनुअघि पेनकिलरको सेवनले खोपले गर्ने प्रभाव कम हुनसक्छ । भाइरोलजी जर्नलमा प्रकाशित अनुसन्धानअनुसार दुखाइ कम गर्ने औषधिले प्रतिरक्षा प्रणालीको क्षमतामा हस्तक्षेप गर्छ ।

मुसामा गरिएको अध्ययनले यस्तो अवस्थामा एन्टिबडीहरू कम मात्रामा मात्र शरीरमा बन्ने गरेको प्रमाणित भएको छ । खोप लगाएपछि, केहीलाई हातमा सुन्निने, टाउको दुख्ने, थकानलगायतका वा नाममात्रका हल्का साइड इफेक्ट देखिने हुन्छ । डब्लुएचओका अनुसार खोप लगाएपछि खोप लगाएको ठाउँ दुखेमा, ज्वरो आएमा, टाउको तथा मांसपेशी दुख्नेजस्ता लक्षणहरू देखा प¥यो भने चिकित्सकको सल्लाह लिएर पेनकिलरको सेवन गर्न सकिन्छ । खोप लगाएपछि कुनै लक्षण नदेखिएसम्म कुनै औषधि लिनु आवश्यक नपर्ने ट्रिनिटी कलेज डब्लिनका प्रोफेसर ल्यूक ओ निल बताउँछन् । पहिलादेखि नै कुनै प्रकारका औषधि सेवन गरेका मानिसले भने खोप लिनुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ । -भास्कर डककमबाट