चिडियाखानाका जनावरलाई पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
परीक्षणको क्रममा रहेको खोप अमेरिकाको नर्थ क्यालिफर्नियाको ओकल्यान्ड चिडियाखानामा रहेका सिंह, बाघ, भालु र फेरेटसलगायत जनावरलाई कोरोनाविरुद्धको दुई डोज खोप दिइएको हो । दोस्रो चरणमा प्राइमेट्स, चिम्पान्जी, चमेरो तथा सुँगुरलाई डोज दिने योजना बनाइएको छ । चिडियाखानामा सुरुमा दुई बाघलाई खोप लगाएको चिडियाखानाको भेटेरिनरी सेवाका उपाध्यक्ष एलेक्स हर्मनले बताएका छन् । उनका अनुसार अहिलेसम्म चिडियाखानाका कुनै पनि जनावरलाई सङ्क्रमण नदेखिए पनि जनावरको संरक्षण आवश्यक देखेर खोप लगाउने निर्णय गरिएको हो ।
यसअघि भने भौतिक दुरीको नियम पालना गर्ने तथा कर्मचारीले पिपिई अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो । चिडियाखानामा जनावरलाई दिइएको खोप न्यु जर्सीस्थित फर्मा कम्पनी जोएटिसले उत्पादन गरेको हो । जोएटिस कम्पनीले अमेरिकाका ७० वटा विभिन्न चिडियाखानामा ११ हजार डोज खोप दिने भएको छ । यसबाहेक जोएटिसको खोप संरक्षण क्षेत्र, शैक्षिक संस्था तथा सरकारी संस्थामा रहेका जनावरका लागि पनि प्रयोग हुने कम्पनीले जनाएको हो । -द न्युयोर्क टाइम्सबाट